काठमाडौँ । रोशी खोला क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध हुन थालेपछि बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
प्रि–मनसुन सक्रिय भएसँगै मौसम अस्थिर बनेको र सम्भावित विपद् जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले यस्तो निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, सिन्धुलीको सोमबार बसेको बैठकले राजमार्गका संवेदनशील खण्डमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत प्रविण कटुवालले जानकारी दिए।
प्रशासनले जारी गरेको सूचनाअनुसार खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा चल्ने सबै प्रकारका सवारी साधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि रोक लगाइएको छ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।
विशेषगरी रोशी खोलामा आउने बाढीका कारण सिन्धुली र काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पटक–पटक सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ। यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा आवागमन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।
यो निर्णय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन तथा सिन्धुली र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयात्मक छलफलपछि गरिएको हो।
प्रशासनले आवश्यक परे मौसमको अवस्था अनुसार थप समयका लागि सवारी आवागमनमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ। साथै, नेपालथोक–कटुञ्जेबेंसी खण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र यात्रा अघि सडकको अवस्था बुझ्न अनुरोध गरिएको छ।
सम्भावित विपद् जोखिमबाट जोगिन अनावश्यक यात्रा नगर्न, मौसम पूर्वानुमान हेरेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायका सूचनाहरू पालना गर्न प्रशासनले आग्रह गरेको छ।

