काठमाडौँ । कुलमान घिसिङले सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूको समस्या मानवीय संवेदनासहित दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
कीर्तिपुरस्थित सुकुमबासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उचित व्यवस्थापन नगरी बस्ती हटाउनु दुःखद् भएको बताए।
निरीक्षणका क्रममा उनले सेल्टरमा बसिरहेका सुकुमबासीहरूको अवस्था अत्यन्त कष्टकर र दयनीय रहेको उल्लेख गरे। हालसम्म ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिँदै उनले विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा सारेर दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
बसोबासको अन्योलताका कारण बालबालिकाको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको उनले बताए। हालै भएको आत्महत्याको घटनाप्रति दुःख व्यक्त गर्दै उनले सरकारलाई संवेदनशील भएर काम गर्न आग्रह गरे। साथै, दुई तिहाइ बहुमत र स्पष्ट कार्यकाल रहेको अवस्थामा हतारमा निर्णय नगरी सोचविचार गरेर अघि बढ्न सुझाव दिए।
स्थलगत अनुभव सुनाउँदै घिसिङले हालको होल्डिङ सेन्टर डुबान क्षेत्रमा रहेको र एउटै टेन्टमा धेरै परिवार बस्न बाध्य भएको बताए। यसले स्वास्थ्य तथा सामाजिक रूपमा समस्या बढाएको उनको भनाइ छ। धेरै बालबालिकाको पढाइ प्रभावित भएको, स्वास्थ्य सेवा सहज नभएको र रोजगारी गुम्दा आर्थिक तनाव बढेको पनि उनले उल्लेख गरे।
घिसिङले सुकुमबासी समस्या देशव्यापी रहेको भन्दै वास्तविक सुकुमबासी र सरकारी जग्गा अतिक्रमण गर्ने सम्पन्न वर्गबीच स्पष्ट छुट्याउनुपर्ने धारणा राखे। संविधानले सुनिश्चित गरेको आवास र भूमिको अधिकारको रक्षा गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको एकीकृत व्यवस्थापन योजना ल्याउन उनले सरकारसँग माग गरेका छन्।
