काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले ओमान राष्ट्रिय क्रिकेट टोलीमाथि ८१ रनको प्रभावशाली जित निकाल्दै सिरिजको सुखद अन्त्य गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार भएको अन्तिम खेलमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.३ ओभरमा १७५ रनमै अलआउट भयो।
ओमानलाई सस्तैमा समेट्न गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले ९ ओभरमा ३८ रन खर्चिए। यस्तै करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।
ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाउँदा हमाद मिर्जाले ३४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.४ ओभरमा २५६ रन बनाएको थियो। ओपनर आशिफ शेखले शानदार ९४ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्याए। उनले अर्जुन कुमालसँग दोस्रो विकेटका लागि १२२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अर्जुन कुमालले ४८ रनको योगदान दिए।
अविजित आरिफ शेखले ४३ रन बनाउँदा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन थपे।
यस जितसँगै नेपालले ४ खेलमध्ये ३ जितसहित ६ अंक जोड्दै लिग–२ तालिकामा कुल १८ अंक पुर्याएको छ। सातौँ स्थानमा रहेको नेपालले २४ खेलमा ८ जित, १४ हार तथा २ खेल रद्द भएको छ।
पराजित ओमानले भने ४ खेलमध्ये २ जित र २ हारको नतिजा निकालेको छ। तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २८ खेलबाट ३१ अंक जोडेको छ।
यस नतिजासँगै नेपालले शीर्ष ४ मा पुग्ने सम्भावना कायम राखेको छ। अब नेपालले वैशाख २९ गतेदेखि घरेलु मैदानमै संयुक्त राज्य अमेरिका राष्ट्रिय क्रिकेट टोली र स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टोली सम्मिलित अर्को त्रिदेशीय सिरिज खेल्ने तालिका रहेको छ।
