काठमाडौँ । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते दिउँसो २ बजे आह्वान गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
उनका अनुसार, “वैशाख २८ गते दिउँसो २ बजे संसद्को दुवै सदनको बैठक बोलाउन सिफारिस गर्ने निर्णय भएको छ।”
सरकारले यसअघि सिफारिस गरेका ८ वटा अध्यादेश जारी भइसकेपछि अब संसद् अधिवेशन बोलाउने तयारी गरिएको हो। यसअघि वैशाख १७ गतेका लागि तय गरिएको अधिवेशन सरकारले स्थगित गरेको थियो।
संसदीय प्रक्रियाबाट निर्णय लिन समय लाग्ने भएकाले सरकारले अध्यादेशमार्फत काम अघि बढाएको बताइएको छ। हालै जारी गरिएका अध्यादेशमा संवैधानिक परिषद् सम्बन्धी, केही नेपाल ऐन संशोधन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारी पदमुक्ति व्यवस्था, विश्वविद्यालयसम्बन्धी संशोधन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण, सार्वजनिक खरिद तथा सहकारीसम्बन्धी संशोधन समावेश छन्।
यो अधिवेशन आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा केन्द्रित हुने बताइएको छ। सरकारले जेठ १ गते नीति तथा कार्यक्रम र जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ।
