काठमाडौँ । व्यवसायी शेखर गोल्छा रिहा हुने भएका छन्। जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेसँगै उनी रिहा हुने भएका हुन्।
अदालतका न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई म्याद नथप्ने आदेश दिएको हो। यससँगै अब उनलाई हिरासतबाट मुक्त गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ।
यसअघि सर्वोच्च अदालतले गोल्छालाई पक्राउ गर्नु र थुनामा राख्नुको कारणबारे लिखित जवाफ माग्दै धितोपत्र कसुरसम्बन्धी अनुसन्धानमाथि नै प्रश्न उठाएको थियो।
त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरोले गोल्छामाथि बीमा सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको दाबी गर्दै रिहा गरेको थिएन। तर, सोही कसुरमा म्याद थपका लागि पुनः अदालतमा प्रस्तुत गर्दा अदालतले म्याद थप गर्न अस्वीकार गरेको छ।
यस निर्णयसँगै अब शेखर गोल्छा हिरासतमुक्त हुने भएका छन् भने उनीमाथिको अनुसन्धान भने जारी रहने जनाइएको छ।
