काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरतर्फ जाने मार्ग निर्माणका क्रममा भेटिएको अज्ञात मानव शवलाई डीएनए परीक्षणका लागि काठमाडौँ ल्याइएको छ।
पर्यटन विभागले मंगलबार विज्ञप्ति जारी गर्दै वैशाख १५ गते उक्त शव फेला परेको जानकारी दिएको हो। विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार विभाग, नेपाल पर्वतारोहण सङ्घ र सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा शवलाई हेलिकप्टरमार्फत लुक्ला हुँदै काठमाडौँ ल्याइएको हो।
हाल उक्त शवलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा राखी पहिचान खुलाउन डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ।
विभागले सगरमाथा क्षेत्रमा विगतमा आरोहणका क्रममा बेपत्ता भएका स्वदेशी तथा विदेशी आरोही वा सहयोगी कामदारबारे कुनै जानकारी भए उपलब्ध गराउन पर्वतारोहण सञ्चालक सङ्घ र ट्रेकिङ एजेन्सीहरूलाई आग्रह गरेको छ।
