नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्स (यूएई) माथि भएको मिसाइल तथा ड्रोन आक्रमणको कडा निन्दा गरेका छन्। उनले सबै प्रकारका विवादको समाधान शान्तिपूर्ण संवाद र कूटनीतिक माध्यमबाट मात्र खोजिनुपर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले उक्त आक्रमणलाई अस्वीकार्य भनेका हुन्। आक्रमणमा परी तीन जना भारतीय नागरिक घाइते भएको उल्लेख गर्दै उनले सर्वसाधारण नागरिक र उनीहरू बस्ने वा काम गर्ने स्थानलाई निशाना बनाउनु पूर्ण रूपमा गलत भएको बताएका छन्।
यस कठिन घडीमा भारत यूएईको साथमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै उनले क्षेत्रीय शान्ति र स्थिरताका लागि वार्ता र कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने धारणा दोहोर्याए। साथै, विश्वको ऊर्जा सुरक्षाका लागि स्ट्रेट अफ होर्मुजमार्फत जहाजहरूको निर्बाध आवतजावत अत्यन्त महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।
यसैबीच, भारतको विदेश मन्त्रालयले पनि यूएईको फुजैराह क्षेत्रमा भएको आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै यस्ता हिंसात्मक गतिविधि तुरुन्त रोक्न माग गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले आक्रमणमा घाइते भएका भारतीय नागरिकप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिक र भौतिक पूर्वाधारमाथि हुने हमलाहरू तत्काल बन्द हुनुपर्ने बताएका छन्।
यूएईको रक्षा मन्त्रालयका अनुसार मे ४ मा इरानतर्फबाट प्रहार गरिएका मिसाइलहरूलाई प्रतिरक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको दाबी गरिएको छ। यद्यपि सोही घटनाक्रमका क्रममा फुजैराह क्षेत्रमा भएको विष्फोटमा केही क्षति भएको र भारतीय नागरिकहरू घाइते भएको जनाइएको छ।
