काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
प्राधिकरणले सम्भावित जोखिम भएका स्थानमा सवारी सञ्चालन रोक्ने आदेशको अवज्ञा गर्ने चालक र सवारीधनीलाई कडा कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएको छ। यसले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हालै काभ्रेको रोशी खोलामा पानीको बहाव बढ्दा रोक्दारोक्दै पनि केही सवारी अगाडि बढेपछि ८९ जना यात्रु बाढीमा फस्न पुगेका थिए। पछि ती सबै यात्रुको सकुशल उद्धार गरिएको थियो।
सो घटनापछि सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै प्राधिकरणले सडक जोखिमको अवस्था विश्लेषण गरी आवश्यक परे तुरुन्त सवारी आवागमन बन्द गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ।
प्राधिकरणका उपसचिव रामबहादुर के.सी. का अनुसार बीपी राजमार्गलगायत संवेदनशील सडकहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ।
त्यस्तै, विपद्को समयमा सडक अवरुद्ध भई यात्रुहरू अलपत्र परेमा उनीहरूको सुरक्षित व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाउन पनि आग्रह गरिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग को मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली पालना गर्न सबैलाई अनुरोध गर्दै सतर्कता अपनाउन समेत आह्वान गरेको छ।

