काठमाडौँ । हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन्। सोमबार दिउँसो उक्त दुर्घटना भएको हो।
चीनको सरकारी समाचार संस्था सिन्ह्वा का अनुसार विस्फोट चाङ्सा सहरअन्तर्गतको औद्योगिक क्षेत्रमा रहेको कारखानामा भएको हो। उक्त उद्योग लियुयाङ क्षेत्रको प्रमुख आतसबाजी उत्पादन केन्द्रमा पर्ने हुआशेङ कम्पनीद्वारा सञ्चालन हुँदै आएको थियो।
राज्य प्रसारण संस्था चाइना केन्द्रीय टेलिभिजन ले सार्वजनिक गरेको दृश्यमा विस्फोटपछि कारखानाका धेरै संरचना ध्वस्त भएको देखिएको छ। विस्फोटको प्रभाव आसपासका क्षेत्रसम्म पुगेको जनाइएको छ।
घटनास्थलमा करिब ५०० जना उद्धारकर्मी परिचालन गरिएको छ। नजिकै रहेका उच्च जोखिमयुक्त बारुद भण्डारका कारण थप विस्फोटको जोखिम रहेकाले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
अहिलेसम्म विस्फोटको ठोस कारण खुलेको छैन। सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढाएका छन् भने प्रहरीले कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
यस घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङ ले उद्धार कार्य तीव्र बनाउन र घटनाको कारण छिट्टै पत्ता लगाई जिम्मेवारमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्। साथै, औद्योगिक क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन समेत उनले जोड दिएका छन्।
