काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूका लागि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीले बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागेको हो।
सहमहामन्त्री विपिन कुमार आचार्य का अनुसार वैशाख २६ र २७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमले संसदमा प्रस्तुत हुने विषयमा जनप्रतिनिधिहरूलाई थप सक्षम बनाउने लक्ष्य लिएको छ।
उक्त प्रशिक्षण सिंहदरबार स्थित रास्वपाको संसदीय दलको कार्यालयमा आयोजना गरिनेछ। प्रशिक्षणमा नीति निर्माण, बजेट विश्लेषण र कानुनी प्रक्रियाबारे विशेष जोड दिइने बताइएको छ।
यसअघि पनि रास्वपाले आफ्ना जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको थियो। चैत ३ र ४ गते ललितपुरको ग्वार्को मा आवासीय कार्यक्रममार्फत पहिलो चरणको प्रशिक्षण सम्पन्न गरिएको थियो।
पहिलो चरणको प्रशिक्षणमा विषयविज्ञ र पार्टीका शीर्ष नेताहरूले प्रशिक्षण दिएका थिए। त्यस कार्यक्रमलाई सहभागीहरूले उपयोगी र प्रभावकारी भएको बताएका थिए।
यद्यपि, उक्त प्रशिक्षणमा वरिष्ठ नेता बालेन शाह अनुपस्थित रहेको विषयले केही आलोचना समेत खेप्नुपरेको थियो। पार्टीभित्र र बाहिरबाट यस विषयमा चासो व्यक्त गरिएको थियो।
गत फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। धेरैजसो जनप्रतिनिधि नयाँ भएकाले यस्ता प्रशिक्षण कार्यक्रमले उनीहरूको क्षमता अभिवृद्धि गर्दै संसदमा प्रभावकारी भूमिका खेल्न सहयोग गर्ने विश्वास पार्टीले लिएको छ।
