काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयन गर्न मतदान कार्य अघि बढाइएको हो।
महासंघको विद्यमान प्रावधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ।
अध्यक्ष पद स्वतः सुनिश्चित भए पनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी पदहरूमा भने कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचनमा मुख्यतया दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ, जसले महासंघभित्रको आन्तरिक शक्ति सन्तुलनलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।
वरिष्ठ उपाध्यक्ष लगायत कार्यकारी पदहरूमा आफ्नो प्यानलको वर्चस्व स्थापित गर्न दुवै समूहका उम्मेदवारहरू सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका छन्। महासंघको भावी नेतृत्व कस्तो हुने भन्ने चासो उद्योगी–व्यवसायी वृत्तमा व्यापक रूपमा बढिरहेको छ।
