प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो तथा फोटो खिच्न कुनै अवरोध नगरिएको स्पष्ट पारेको छ।
सोमबार प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न रोकिएको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै सचिवालयले उक्त दाबी गलत भएको जनाएको हो।
प्रधानमन्त्रीको सचिवालयकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जारी गरेको प्रेस नोटमा प्रधानमन्त्री शाहले कार्यालय प्रवेशका क्रममा परिसरभित्र सवारी साधनको अत्यधिक भीडभाड देखिएपछि सुरक्षा व्यवस्थापनबारे सुरक्षाकर्मीलाई सामान्य जिज्ञासा मात्र राखेको उल्लेख गरिएको छ।
“उहाँको चासो केवल परिसरभित्रको सवारी व्यवस्थापन र प्रशासनिक सहजतासँग सम्बन्धित थियो,” प्रेस नोटमा भनिएको छ, “सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्ने कुनै निर्देशन दिइएको होइन।”
सचिवालयका अनुसार प्रधानमन्त्री कार्यकक्ष प्रवेशपछि केही सुरक्षाकर्मीले गेट क्षेत्रमा रहेका सञ्चारकर्मीलाई हट्न भनेको विषयमा गुनासो प्राप्त भएको थियो। तर सो जानकारीपछि तुरुन्तै समन्वय गरी सञ्चारकर्मीको पहुँचमा कुनै अवरोध नभएको स्पष्ट पारिएको छ।
सचिवालयले भनेको छ, “जहाँ सञ्चारकर्मीलाई रिपोर्टिङको अनुमति छ, त्यहाँ कुनै प्रकारको निषेध वा अवरोध गरिएको छैन र भविष्यमा पनि गरिने छैन।”
साथै, उक्त प्रेस नोटमा सरकारले प्रेस स्वतन्त्रता, सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सञ्चार क्षेत्रसँग सहकार्य र पारदर्शिता कायम राख्ने प्रतिबद्धता दोहोर्याइएको छ।

