काठमाडौं । सरकारले विश्व बैंक बाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका अनुसार यो ऋण तथा अनुदान परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्न प्रयोग गरिनेछ। यसले औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै वातावरणीय सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
बैठकले थप रूपमा भारत सँग जीटूजी (सरकार-सरकार) माध्यमबाट रासायनिक मल खरिदका लागि पनि सैद्धान्तिक स्वीकृति दिएको छ। यसअन्तर्गत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गरिनेछ।
उक्त मल खरिद प्रक्रिया कार्यान्वयन गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई जिम्मेवारी दिइएको छ। यस निर्णयले कृषकहरूलाई समयमा मल उपलब्ध गराउने र कृषि उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास सरकारको छ।
