काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स–ड्रिभन र मिसन–रेडी’ संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा बोल्दै उनले सङ्गठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन तथा साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई थप सुदृढ बनाइने बताए ।
सीमा सुरक्षालाई संगठनको मेरुदण्डका रूपमा लिँदै उनले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न ‘बोर्डर इन्टेलिजेन्स’ प्रणाली विकास गरिने उल्लेख गरे । सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) विस्तार, रणनीतिक तैनाथी तथा छिमेकी देशका सुरक्षा निकायहरूसँग सहकार्यलाई अझ प्रभावकारी बनाइने उनको भनाइ थियो ।
विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरीको भूमिका सुदृढ पार्न कुरिनटार र मनाङस्थित तालिम केन्द्रहरूको स्तरोन्नति गरिने र नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापना गर्ने योजना अघि सारिएको उनले बताए । साथै, सशस्त्र प्रहरी अस्पताललाई क्रमशः मेडिकल कलेज तथा शिक्षण अस्पतालका रूपमा विकास गर्ने पहल गरिने पनि उनले जानकारी दिए ।
आईजीपी पौडेलले संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने स्पष्ट पारे । कर्मचारीहरूको मनोबल उच्च राख्न वृत्तिविकासका स्पष्ट योजना, कल्याणकारी कार्यक्रम तथा आन्तरिक गुनासो समाधान संयन्त्रलाई सुदृढ बनाइने उनले बताए ।
उनले अग्रजहरूले थालेका सुधारमुखी कार्यक्रमलाई निरन्तरता दिँदै समयअनुसार परिमार्जन गर्ने प्रतिबद्धता जनाए । साथै, नेपाल सरकारको १०० दिने रणनीतिक सुधार योजनाअनुसार कार्ययोजना तयार गरी सशस्त्र प्रहरीलाई आधुनिक, उत्तरदायी र विश्वासिलो सुरक्षा संस्थाका रूपमा स्थापित गर्ने दृढता व्यक्त गरे ।
