भैरहवा — तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व कम गर्न नयाँ प्रविधिको परीक्षण सुरु गरिएको छ। बाघ र चितुवाजस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्ध सङ्केत (synthetic scent) प्रयोगमा ल्याइएको हो।
तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु गरिएको यो प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर ‘अदृश्य सीमा’ निर्माण गर्ने लक्ष्य राखेको कार्यक्रमका प्रबन्धक भरत भट्टले बताए। उनका अनुसार बाघ र चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाब वा नङले कोतरेर गन्ध छाड्ने स्वभाव हुन्छ। यही व्यवहारको नक्कल गर्दै कृत्रिम गन्ध प्रयोग गर्दा जनावरलाई आफ्नो क्षेत्रमा अर्को प्रतिस्पर्धी आएको भ्रम उत्पन्न हुन्छ, जसले उनीहरूलाई बस्तीबाट टाढा जान प्रेरित गर्छ।
यसका लागि मानव बस्ती नजिक ३० वटा रणनीतिक स्थानमा क्यामेरा र विशेष प्रकारका डिस्पेन्सर जडान गरिएको छ। यी उपकरणले निश्चित गन्ध फैलाएर वन्यजन्तुलाई बस्ती प्रवेशबाट रोक्ने प्रयास गरिरहेको वन प्राविधिकहरूले बताएका छन्।
प्रयोग गरिएका गन्ध मानव र वन्यजन्तु दुवैका लागि हानिकारक नभएको दाबी गरिएको छ। प्रारम्भिक परीक्षणमा केही गन्धले चितुवा र बाघलाई प्रभावकारी रूपमा रोक्न सफल भएको देखिएको छ। गत वर्षको परीक्षणमा दुई प्रकारका गन्धले चितुवा, दुई प्रकारले बाघ तथा एक प्रकारले दुवै प्रजातिलाई प्रभाव पार्न सफल भएको पाइएको थियो। हाल थप चारदेखि पाँच प्रकारका गन्धमा परीक्षण जारी छ।
पछिल्ला वर्षहरूमा तराई क्षेत्रमा बाघ, चितुवा तथा अन्य जंगली जनावर बस्तीमा प्रवेश गर्ने घटना बढ्दै जाँदा मानवीय क्षति र त्रास पनि बढेको छ। यस्तो अवस्थामा वैज्ञानिक प्रविधिमा आधारित यो पहलले द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो कार्यक्रम विश्व वन्यजन्तु कोषअन्तर्गत सञ्चालन भइरहेको तराई भूपरिधि तथा संरक्षण कार्यक्रमसँग जोडिएको हो, जसले नेपाल र भारतका तराई क्षेत्र समेटेर दीर्घकालीन संरक्षण पहल गर्दै आएको छ।
यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको बासस्थान सुधारका लागि सिमसार क्षेत्र निर्माण, घाँसेमैदान व्यवस्थापन, पानीको अभाव हुने क्षेत्रमा सौर्य ऊर्जामा आधारित पम्प जडान तथा अवैध गतिविधि नियन्त्रणका लागि स्पाइक क्यामेरा जडानजस्ता कार्यक्रम पनि सञ्चालनमा छन्।
