झापा — मेची भन्सार कार्यालय मातहत रहेका छ वटा छोटी भन्सार कार्यालयमध्ये हाल केवल एउटा मात्र सञ्चालनमा रहेको छ भने बाँकी पाँच वटा लामो समयदेखि बन्द अवस्थामा छन्। राजस्व संकलन र सीमापार व्यापार सहज बनाउन स्थापना गरिएका यी छोटी भन्सारहरू अपेक्षित रूपमा सक्रिय हुन सकेका छैनन्।
मेची भन्सार कार्यालयका अनुसार गौरीगन्ज–२ स्थित आठमौजा छोटी भन्सार मात्र हाल सञ्चालनमा छ। मेचीनगर–२ को गाडागल्ली, मेचीनगर–४ को बाहुनडाँगी, मेचीनगर–५ को नकलबन्दा, मेचीनगर–७ को सतिघट्टा र गौरीगन्ज–१ को महाभारा छोटी भन्सार भने पूर्ण रूपमा बन्द अवस्थामा छन्।
मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आठमौजा छोटी भन्सार सञ्चालनमा रहे पनि त्यहाँ उल्लेखनीय भन्सार कारोबार हुन सकेको छैन। उनका अनुसार सीमापार व्यापारका लागि आवश्यक क्वारेन्टाइन, अध्यागमन तथा अन्य प्रशासनिक संरचना नहुँदा धेरै छोटी भन्सारहरू प्रभावकारी रूपमा चल्न सकेका छैनन्।
पूर्वी नाका काँकडभिट्टामा भने मेची भन्सार कार्यालयसँगै सुक्खा बन्दरगाह, अध्यागमन कार्यालय र क्वारेन्टाइन जस्ता सुविधा भएकाले मुख्य व्यापार यहीँ केन्द्रित भएको छ।
स्थानीय तहले बाहुनडाँगी छोटी भन्सार पुनः सञ्चालनमा ल्याउन आग्रह गर्दै आएको छ। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार यो क्षेत्र ऐतिहासिक सीमाबजार हो र विगतमा प्रमुख आवतजावत तथा व्यापारिक केन्द्रका रूपमा परिचित थियो। तर लामो समयदेखि बन्द हुँदा स्थानीय बासिन्दा निराश बनेका छन्।
भौतिक संरचना जीर्ण अवस्थामा रहेका अधिकांश छोटी भन्सारहरूमा सीमावर्ती क्षेत्रमा ठूलो बजार नहुनु पनि सञ्चालन नहुनुको अर्को कारण मानिएको छ। हाल यी नाकाहरूमा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको छ।
