विराटनगर — कोशी प्रदेशको राजधानी विराटनगरमा आज ‘वुमन लिडरसिप समिट २०२६’ आयोजना हुँदैछ। महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो।
नेपाल उद्योग परिसंघ (CNI) र परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा हुने उक्त समिटमा प्रदेशभरिबाट करिब ३०० भन्दा बढी महिलाको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रमलाई औपचारिक सम्मेलनभन्दा माथि उठाएर कोशी प्रदेशको आर्थिक संरचना पुनःपरिभाषित गर्ने अवसरका रूपमा लिइएको छ।
समिटकी संयोजक तथा सिएनआई कोशीकी उपाध्यक्ष गिरिजा सारडाका अनुसार महिलाको सीप, सिर्जनशीलता र स्थानीय स्रोत–साधनलाई बजारसँग जोड्ने लक्ष्यसहित कार्यक्रमको संरचना तयार गरिएको हो। उनका अनुसार महिलालाई केवल उद्यममा प्रेरित गर्ने मात्र नभई उनीहरूको उत्पादनलाई बजारसँग जोड्ने वातावरण सिर्जना गर्नु मुख्य उद्देश्य हो।
कार्यक्रमले विशेषगरी ग्रामीण तथा अर्धसहरी क्षेत्रका महिलालाई लक्षित गर्दै कृषि, पशुपालन र साना उद्योगका अवसरलाई व्यावसायिक मोडेलमा रूपान्तरण गर्ने मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ। महिलालाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने दिशामा अग्रसर गराउने लक्ष्य राखिएको छ।
समिटमा कृषि, उत्पादन, प्रविधि र डिजिटल प्लेटफर्मबीचको सम्बन्ध, मूल्य शृङ्खला विकास, वित्तीय पहुँच विस्तार तथा स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने रणनीतिमाथि विस्तृत छलफल हुने बताइएको छ।
परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले प्रदेशको आर्थिक विकासमा महिला सहभागिता निर्णायक हुने भन्दै निजी क्षेत्रले ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिकमतकुमार कार्कीले गर्नेछन्। इस्राइल मन्सुरी लगायत वक्ताहरूले सम्बोधन गर्नेछन् भने विशिष्ट अतिथिका रूपमा सबिना काफ्ले, विदुषी राणा, वीरेन्द्रराज पाण्डे लगायतको उपस्थिति रहनेछ।
उद्योग, बैंकिङ, कृषि, प्रविधि तथा नीतिगत क्षेत्रका प्रतिनिधिहरूको सहभागितासँगै कार्यक्रमले बहुआयामिक छलफलको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
