काठमाडौं । सरकारले उपत्यकामा सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले प्रदर्शन गरेको छ । आइतबार काठमाडौँको माइतीघर मण्डलामा पार्टीले विरोध कार्यक्रम आयोजना गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले भूमिहीन तथा सुकुमबासी जनतामाथि सरकारले अमानवीय व्यवहार र दमन गरेको आरोप लगाएका थिए । उनीहरूले सरकारले “श्वेत आतङ्क” मच्चाएको भन्दै तत्काल रोक्न माग गरेका छन् ।
विरोध कार्यक्रममा “जनताको भूमिमाथिको अधिकार ग्यारेन्टी गर”, “क्रान्तिकारी भूमिसुधार लागू गर” लगायतका नाराहरू लगाइएको थियो । साथै सरकारविरुद्ध कडा नारा लगाउँदै प्रदर्शनलाई चर्काइएको थियो ।
नेकपा (माओवादी) ले सुकुमबासी बस्ती हटाउने कार्यलाई गरिब जनतामाथिको अन्याय र राज्यद्वारा गरिएको दमनको रूपमा व्याख्या गरेको छ । पार्टीले भूमिहीन जनताको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
सरकारले हाल काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्ती हटाउने अभियान अघि बढाइरहेको छ । यसै अभियानका कारण पछिल्ला दिनहरूमा राजनीतिक दल तथा सामाजिक संघ–संस्थाबाट विरोध बढ्दै गएको छ ।
यसबीच, विरोध प्रदर्शनले भूमिसम्बन्धी नीति र सुकुमबासी व्यवस्थापनको विषय फेरि बहसमा ल्याएको छ । सरकारले भने कानुनी प्रक्रिया अनुसार अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने आफ्नो नीति जारी रहने बताउँदै आएको छ ।
