काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा नयाँ योग्यता प्रणाली लागू गर्ने निर्णय गरेको छ । अब पार्टीबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले विशेष प्रशिक्षण कार्यक्रम पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले “क्याण्डिडेट क्लब” र “लिडरसीप एकेडमी” सफलतापूर्वक पूरा गरेका सदस्यहरूलाई मात्र उम्मेदवार बन्न योग्य मानिने सैद्धान्तिक र नीतिगत आधार पारित गरेको हो ।
पार्टीका अनुसार यस कदमको उद्देश्य स्थानीय तहमा सक्षम, अनुशासित र नेतृत्व क्षमतायुक्त जनप्रतिनिधि तयार गर्नु हो । प्रवक्ता मनिष झाले यो प्रणालीले पार्टीभित्रको नेतृत्व विकासलाई व्यवस्थित गर्ने विश्वास व्यक्त गरेका छन् ।
यसअघि पार्टी सचिवालय बैठकले उम्मेदवार छनोटको विस्तृत खाका तयार पार्न सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले आवश्यक मस्यौदा तयार गरी पार्टी नेतृत्वलाई बुझाएको थियो ।
कार्यदलको सुझावका आधारमा तयार पारिएको नयाँ रूपरेखा आइतबारको सचिवालय बैठकमा छलफल गरी अनुमोदन गरिएको पार्टी स्रोतले जनाएको छ । अब यो प्रक्रिया आगामी स्थानीय तह निर्वाचनदेखि लागू हुने बताइएको छ ।
रास्वपाले यस प्रणालीमार्फत पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता आधारित उम्मेदवार छनोट सुनिश्चित हुने अपेक्षा गरेको छ ।
