बेरुत — इजरायल ले आइतबार दक्षिणी लेबनन का ११ वटा सहर र गाउँका बासिन्दालाई तत्काल घर खाली गर्न र कम्तीमा १ हजार मिटर टाढा खुला क्षेत्रमा सर्न चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इजरायली सेनाले ती क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको जनाएको छ। बेलायती पत्रिका द इन्डिपेन्डेन्टका अनुसार यो कारबाही इजरायलले हेजबुल्लाह विरुद्ध लक्षित भएको दाबी गरेको छ।
इजरायली सेनाले हेजबुल्लाहले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै त्यहाँका लडाकु वा उनीहरू नजिक रहेका जो कोही पनि जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।
यसअघि पनि इजरायलले दक्षिणी लेबनन क्षेत्रमा बारम्बार हवाई आक्रमण गर्दै आएको छ। केही स्थानमा जमिन कब्जा गरेको दाबीसमेत इजरायलले गरेको छ भने हेजबुल्लाहका संरचना भनिएका भवनहरू ध्वस्त पारिएको जनाएको छ।
उता, इरान समर्थित हेजबुल्लाहले पनि उत्तरी इजरायलमा ड्रोन र मिसाइल आक्रमण जारी राख्दै आएको छ, जसले दुवै पक्षबीचको तनाव झन् चर्किएको छ।
