काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्ले ले देशमा विगतमा भएका संस्थागत कब्जा, नीतिगत सेटिङ र दोहन–लुटतन्त्र अन्त्य गर्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले विभिन्न प्रतिवेदनहरू अध्ययन गर्दा देशको स्रोत–साधनमाथि भएको अनियमितता देखेर स्तब्ध हुने गरेको बताए। “कहिलेकाहीँ ती रिपोर्ट पढ्दा आङ सिरिङ्ग हुन्छ,” उनले भने।
वाग्लेका अनुसार ‘एलिट’ वर्गको राजनीतिक र संस्थागत कब्जा, व्यवसायी र भ्रष्ट राजनीतिज्ञबीचको अपवित्र सम्बन्ध तथा नीतिगत मिलेमतो अन्त्य गर्ने दिशामा सरकार अघि बढिरहेको छ।
उनले विगतका गल्तीहरू दोहोरिन नदिन निजी क्षेत्रलाई पनि जिम्मेवार बन्न आह्वान गर्दै अनियमित गतिविधिमा संलग्नलाई संरक्षण नगर्न चेतावनी दिए।
अर्थमन्त्री वाग्लेले सरकारले स्वच्छ उद्यमीका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्य लिएको बताउँदै कर तिर्ने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने व्यवसायीलाई प्रोत्साहन गरिने स्पष्ट पारे।
उनका अनुसार सरकार शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र गरिबी निवारणमा लगानी बढाउने गरी आर्थिक प्रणाली सुधारतर्फ अघि बढिरहेको छ। साथै उनले लगानीमैत्री नीति र स्थिर व्यवसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको पनि दोहोर्याए।
