काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईं ले सरकारले राष्ट्रिय सीमा सुरक्षाभन्दा सुकुम्वासी व्यवस्थापनलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पोखराबाट फर्किएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका प्रसाईंले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाह प्रति लक्षित टिप्पणी गरेका हुन्।
उनले सुकुम्वासी बस्ती हटाउन डोजर चलाउनुको सट्टा लिपुलेक–कालापानी जस्ता सीमा क्षेत्रतर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनले नेपालको भूमि फिर्ता, सीमा सुरक्षा र राष्ट्रिय हितका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
प्रसाईंले भने, “भोलीदेखि भारत र चीनले मानसरोवरको बाटो खोल्दैछन्। नेपाली सेनालाई त्यहाँ पठाउनुपर्दैन? आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन?”
उनले अघिल्लो समय ‘ग्रेटर नेपाल’ नक्सासम्बन्धी बहस र सीमा मुद्दा स्मरण गर्दै राष्ट्रिय भूमि फिर्ताको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
सुकुम्वासी बस्ती व्यवस्थापनप्रति टिप्पणी गर्दै उनले गरिबमाथि अन्याय भएको बताए। “गरिबहरूलाई जसरी रुवाइएको छ, त्यो देख्दा दुःख लाग्छ,” उनले भने, “घर सबैको सपना हो, तर बसोबासको समस्या पनि समाधान हुनुपर्छ।”
