काठमाडौं — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले सवारी नियम उल्लङ्घन गर्ने २ हजार १११ चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट राज्यकोषमा पाँच लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १८४ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १०३ जना र तीव्र गतिमा सवारी चलाउने २२२ जनालाई कारबाही गरिएको छ।
त्यसैगरी, लेन अनुशासन पालना नगर्ने १३८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, सडक पेटीमा पार्किङ गर्ने ८६ जना र निर्धारित स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ४२ जनामाथि पनि कारबाही गरिएको छ।
यस बाहेक अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १६० जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
