काठमाडौं, २० वैशाख — सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना ले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रूपमा व्याख्या गर्दै सञ्चारमाध्यमले केवल सूचना प्रवाह मात्र नभई राज्य, राजनीति, प्रशासन, निजी क्षेत्र र समाजलाई जवाफदेही बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार प्रेस स्वतन्त्रतासँगै पत्रकारितामा जिम्मेवारी, व्यावसायिक मर्यादा र तथ्यप्रतिको प्रतिबद्धता पनि उत्तिकै आवश्यक हुन्छ। “प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ,” विज्ञप्तिमा उल्लेख छ।
डिजिटल युगमा गलत सूचना, भ्रामक सामग्री तथा सामाजिक सञ्जालको दुरुपयोगजस्ता चुनौती बढ्दै गएको उल्लेख गर्दै उनले सत्य, तथ्य र सार्वजनिक हितमा आधारित पत्रकारिता अझ आवश्यक भएको धारणा राखे। समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक दिशामा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्वपूर्ण रहने उनको भनाइ छ।
मन्त्री तिमिल्सिनाले सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको परम्परा अझ सशक्त बन्ने विश्वास व्यक्त गरेका छन्।
