काठमाडौं — विश्व प्रेस स्वतन्त्रता दिवस का अवसरमा नेपाल पत्रकार महासङ्घ ले आइतबार बिहान काठमाडौँमा ऐक्यबद्धता पदयात्रा आयोजना गरेको छ।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित माइतीघर मण्डला बाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग का सदस्य मनोज दुवाडीले प्रेस स्वतन्त्रताको अवस्था सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरे। उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अभिन्न अङ्ग भएकाले त्यसको हनन भए आयोग सधैँ रक्षार्थ उभिने बताए।
महासङ्घका अध्यक्ष निर्मला शर्मा ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संवैधानिक हक भएको उल्लेख गर्दै यसलाई कुण्ठित गर्न नहुने बताइन्।
यसैगरी, नेपाल बार एसोसिएसन का अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रतामाथि कुनै अवरोध आए कानुनी उपचारसहित नैतिक समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरे।
