मोरङ — स्रोत नखुलेको नगद रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट एक भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालका अनुसार भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई शनिबार रु १५ लाख ९८ हजारसहित पक्राउ गरिएको हो।
यसअघि शुक्रबार सोही विमानस्थलबाट धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई स्रोत नखुलेको रु ११ लाख नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
