मोरङ, वैशाख १९ गते । भारतीय बजारबाट रु १०० भन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि सीमावर्ती जोगवनी बजार सुनसान बन्दै गएको छ भने विराटनगरसहित नेपाली बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको छ ।
यसअघि नेपाली उपभोक्ताहरू दैनिक उपभोग्य सामग्री, लत्ताकपडा र भाँडाकुँडालगायत वस्तु किनमेलका लागि जोगवनी पुग्ने गरेका थिए । तर नयाँ नियम कडाइका साथ लागू भएपछि त्यस्तो प्रवृत्तिमा कमी आएको व्यवसायीहरू बताउँछन् ।
विराटनगर महानगरपालिका–९ मा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारी अशोक साहका अनुसार पछिल्लो समय स्थानीय पसलहरूमा ग्राहकको आगमन बढ्न थालेको छ । उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र स्थानीय व्यापार सुदृढीकरणका लागि सरकारको निर्णय सकारात्मक भएको उल्लेख गर्दै यसको निरन्तरता आवश्यक रहेको बताए ।
भन्सार कार्यालयले रु १०० भन्दा बढीका सामानमा अनिवार्य महसुल लिने व्यवस्था कडाइका साथ लागू गरेपछि सीमापारबाट सामान ल्याउने उपभोक्ताको संख्या घटेको छ । यसको प्रभाव स्वरूप विराटनगर बजार, महेन्द्र चोक, बसपार्क तथा शनि मन्दिर आसपासका व्यापारिक क्षेत्रमा किनमेल गर्नेहरूको भीड बढ्न थालेको व्यवसायीहरूको भनाइ छ ।
विगतमा साइकल तथा झोलामा खाद्यान्नलगायत सामग्री तस्करी गरी ल्याउने प्रवृत्ति समेत घट्दै गएको व्यापारीहरूले बताएका छन् । यसले स्थानीय व्यापार मात्र होइन, समग्र आर्थिक गतिविधि चलायमान बन्न सहयोग पुगेको उनीहरूको विश्वास छ ।
यता जोगवनी बजारमा भने खाद्यान्न, कपडा, मोबाइल, इलेक्ट्रोनिक तथा अन्य उपभोग्य सामग्री बिक्री गर्ने पसलहरूमा ग्राहकको कमी देखिन थालेको छ । सडक छेउमा राखेर बिक्री गरिने जुत्ताचप्पल, फलफूल र कपडाका साना व्यवसायमा समेत नेपाली उपभोक्ताको उपस्थिति घटेको स्थानीय व्यापारीहरू बताउँछन् ।
विराटनगर भन्सार कार्यालयका अनुसार नयाँ नियम लागू भएसँगै दैनिक १२ देखि १५ जनाले भन्सार महसुल तिर्न थालेका छन् । भन्सार कडाइसँगै सीमापार किनमेल घट्दै जाँदा नेपाली बजारमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
