वासुलिङ, बैतडी, वैशाख १९ गते । बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पहिलो चरणमा २० जना लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने तयारी थालेको जनाएको छ ।
गाउँपालिकाबाट प्रमाणीकरण भएका ५९ जना भूमिहीन सुकुम्बासीमध्ये प्रारम्भिक चरणमा २० जनालाई समेटेर वितरण प्रक्रिया अघि बढाइएको हो । आयोगका जिल्ला अध्यक्ष रमेश पाण्डेयका अनुसार आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएपछि लालपूर्जा हस्तान्तरण गरिनेछ ।
जग्गा उपलब्ध गराउने तयारीसँगै सम्बन्धित क्षेत्रमा हकदाबी पेश गर्न सात दिनको सार्वजनिक सूचना समेत जारी गरिएको छ । स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित तथा सुकुम्बासीका लागि नापजाँच गरिएको जग्गा पहिचान भइसकेको छ ।
प्रकाशित सूचनामा लाभग्राहीको नामसहित जग्गाको विवरण सार्वजनिक गरिएको छ । अब प्राप्त दाबीका आधारमा तीनपुस्ते विवरण सङ्कलन गरी मालपोत कार्यालयमार्फत लाभग्राहीको अन्यत्र जग्गा स्वामित्व नभएको सुनिश्चित गरिनेछ ।
सबै प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित लाभग्राहीलाई लालपूर्जा वितरण गरिने आयोगले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी व्यवस्थापनमा सक्रियता देखिए पनि जिल्लाका अन्य स्थानीय तहमा भने प्रमाणीकरणको काम अघि बढ्न सकेको छैन ।
हाल पञ्चेश्वरमा ५९ भूमिहीन परिवार र करिब चार सय अव्यवस्थित बसोवासी रहेको तथ्यांक छ । आयोगले यस अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्दै अन्य स्थानीय तहमा पनि लागू गर्ने तयारी गरेको जनाएको छ ।
