काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई प्राथमिकता दिँदै आगामी साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यसपछि भदौदेखि कात्तिकसम्म क्रमशः वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
निर्णयअनुसार भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिनेछ। यसलाई महाधिवेशनको तयारीस्वरूप संगठनात्मक आधार बलियो बनाउने कदमका रूपमा लिइएको छ।
त्यसैगरी आगामी जेठ मसान्तभित्र केन्द्रदेखि वडा र टोल तहसम्मका सबै पार्टी संरचना तथा जनवर्गीय र मोर्चा संगठनहरूको एकीकरण तथा समायोजन गरिसक्ने निर्णय गरिएको छ। यसले संगठनलाई एकीकृत र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन्। नेतृत्व संरचनामा अनुभवी, प्रौढ तथा युवा पुस्ताको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गरिनेछ।
पार्टीले विशेषगरी युवा र नवयुवाको सहभागितालाई प्राथमिकता दिँदै प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउने लक्ष्य राखेको छ। यसलाई संगठनमा नयाँ ऊर्जा र नेतृत्व विकासको अवसरका रूपमा हेरिएको छ।
