काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। भेट लामिछानेको निजी निवासमा भएको बताइएको छ।
भेटवार्तामा नेपाल–संयुक्त राज्य अमेरिका सम्बन्ध र आपसी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले नेपालमा हालको राजनीतिक परिवर्तन र सुधारका प्रयासहरू उत्साहजनक रहेको टिप्पणी गरेका छन्।
गोरका अनुसार नेपालमा नयाँ सरकारले प्राप्त गरेको जनादेशले सुधारका लागि सकारात्मक संकेत दिएको छ। उनले आगामी दिनमा नेपालसँग थप नजिकको सहकार्य गर्न अमेरिका इच्छुक रहेको पनि उल्लेख गरेका छन्।
यसअघि नेपाल भ्रमणमा आएका गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका थिए। त्यसक्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध, विकास सहकार्य र क्षेत्रीय विषयमा छलफल भएको बताइएको छ।
त्यसैगरी उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए। उक्त भेटमा आर्थिक सहकार्य, लगानी र विकासका सम्भावनाबारे विचार–विमर्श भएको जनाइएको छ।
यस भेटलाई नेपाल–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।
