बेरुत (लेबनान), १९ गते । दक्षिणी लेबनानमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। युद्धविराम लागू भए पनि इजरायली कारबाही जारी रहेको भन्दै स्थानीय स्तरमा चिन्ता बढेको छ।
हबबुस क्षेत्रमा भएको आक्रमणमा एक बालक र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, जररिया क्षेत्रमा भएको अर्को आक्रमणमा दुई महिलासहित चार जनाको ज्यान गएको र थप चार जना घाइते भएको बताइएको छ।
तटीय सहर टायर नजिकै भएको अलग आक्रमणमा पनि एक जनाको मृत्यु भएको र सात जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आक्रमणअघि इजरायली सेनाले केही क्षेत्रमा निकासी आदेश जारी गरेको थियो।
लेबनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार इजरायली लडाकु विमानले चेतावनी दिएको एक घण्टाभित्रै आक्रमण सुरु भएको थियो। इजरायली सेनाले हेजबुल्लाहविरुद्ध कारबाही जारी राख्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिएको रिपोर्टमा उल्लेख छ।
एनएनएले दक्षिण लेबनानका विभिन्न स्थानमा थप आक्रमण भएको पनि जनाएको छ। इजरायली सेनाले यारुन सहरमा रहेका केही संरचना ध्वस्त पारेको र अन्य क्षेत्रमा विस्फोट गराएको विवरण सार्वजनिक भएको छ।
यसैबीच अन्तर्राष्ट्रिय रेड क्रस र रेड क्रिसेन्ट सोसाइटी महासङ्घका उपमहासचिव जेभियर क्यास्टेलानोसले लेबनानी रेड क्रसका स्वयंसेवकहरूले जोखिम मोलेर उद्धार तथा मानवीय सहायता कार्य गरिरहेको बताएका छन्। युद्धविरामको बावजुद जारी हिंसाले क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको देखिएको छ।
