म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु भएको छ। धवलागिरि गाउँपालिका र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन निर्माण थालिएको हो।
धवलागिरि–४ जेल्तुङदेखि वडा नं. ३ र ७ हुँदै मालिका–७ स्थित नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनसम्म १६.४८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ। यसले दुर्गम क्षेत्रमा उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार तयार गर्ने अपेक्षा गरिएको छ।
यस आयोजनामार्फत तीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने कुल १६४.७५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समावेश हुने बताइएको छ। म्याग्दीखोला (६५ मेगावाट), माथिल्लो म्याग्दी (४६.२५ मेगावाट) र अपर म्याग्दी (५३.५ मेगावाट) आयोजना यसमा सहभागी छन्।
प्रसारण लाइन निर्माणका लागि कुल ५७ वटा टावर स्थापना गरिनेछ। आयोजनाको कुल लागत करिब ४२ करोड ६२ लाख रुपैयाँ अनुमान गरिएको छ। निर्माणका लागि ८.४० हेक्टर निजी जग्गा र २१.९९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग हुने जनाइएको छ।
आयोजनाले सार्वजनिक वन प्रयोग गरेबापत सट्टाभर्ना गर्ने र निजी जग्गाधनीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ। साथै वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार र सामाजिक सहयोग कार्यक्रमका लागि २१ लाख ३१ हजार रुपैयाँ छुट्याइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट वातावरणीय परीक्षण स्वीकृत भइसकेपछि निर्माण कार्य अघि बढाइएको हो। आयोजना आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले म्याग्दी क्षेत्रको जलविद्युत् उत्पादनलाई राष्ट्रिय प्रणालीसँग प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरिएको छ।
