काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। आङ्देम्बेले बिहान शीतल निवास पुगेर राष्ट्रपतिसँग संवाद गरेका हुन्।
आङ्देम्बेको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा करिब एक घण्टा छलफल भएको थियो। विशेषगरी सरकारले ल्याइरहेका अध्यादेशबारे विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई अवगत गराइएको बताइएको छ।
‘अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको दृष्टिकोण प्रस्तुत गरिएको छ,’ आङ्देम्बेको सचिवालयले जनाएको छ। पछिल्लो समय सरकारले निरन्तर अध्यादेश ल्याउन थालेपछि विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
सरकारले सिफारिस गरेका अध्यादेशमध्ये राष्ट्रपति पौडेलले शुक्रबारसम्म तीन वटा जारी गरिसकेका छन्। पछिल्लोपटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो।
यसअघि सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ पनि जारी भइसकेका छन्। यी अध्यादेशहरू नेपालको संविधानको धारा ११४(१) बमोजिम सरकारको सिफारिसमा जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
हाल राष्ट्रपतिको कार्यालयमा अझै पाँच वटा अध्यादेश विचाराधीन अवस्थामा रहेका छन्। सरकारले कुल आठ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेकोमा बाँकी अध्यादेशबारे निर्णय हुन बाँकी रहेको छ।
