काठमाडौं । शंकर पोखरेलले विस्थापित सुकुमबासीका समस्या समाधानका लागि ‘ज्ञ (ज्ञान) क्रान्ति’ को स्पष्ट खाका सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री बालेन्द्र शाहको ‘वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ’ भन्ने अभिव्यक्तिलाई व्यवहारमा कसरी लागू गरिने भन्नेबारे प्रश्न उठाएका हुन्।
पोखरेलले प्रभावित नागरिकहरू अहिले असुरक्षित र अन्योलमा रहेको उल्लेख गर्दै उनीहरूलाई स्पष्ट योजना, समयसीमा र विश्वसनीय कार्यान्वयनमार्फत आश्वस्त पार्न सरकारलाई सुझाव दिएका छन्। ‘विस्थापित सुकुमबासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू,’ उनले लेखेका छन्।
उनले मानवीय संवेदनशीलता र राज्यको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै दीगो समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्। अहिलेको संकटमा सरकारले कस्तो ‘क्रान्तिकारी कदम’ चाल्दैछ भन्नेबारे स्पष्ट धारणा सार्वजनिक गर्न उनले माग गरेका छन्।
पोखरेलले विगतको उदाहरण उल्लेख गर्दै २०७५ सालमा बारा–पर्सा क्षेत्रमा आएको भीषण आँधीपछिको पुनर्स्थापनालाई स्मरण गरेका छन्। तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावितलाई राहत दिएको उनको दाबी छ।
उक्त विपत्तिमा २८ भन्दा बढीको मृत्यु, ११५० भन्दा बढी घाइते र करिब २५ सय घरमा क्षति पुगेको तथ्यांक पनि उनले प्रस्तुत गरेका छन्। सो घटनापछि गरिएको पुनर्स्थापना कार्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले वर्तमान सरकारलाई पनि प्रभावकारी योजना ल्याउन आग्रह गरेका छन्।
उनका अनुसार वर्तमान सरकारले द्रुत, परिणाममुखी र दीगो रणनीति अपनाएर विस्थापित सुकुमबासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता छ। उनले यस विषयमा स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारसँग पुनः जोड दिएका छन्।
