काठमाडौं । सगरमाथाको फेदीमा अवस्थित अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला १३ वर्षपछि पुनः सञ्चालनमा आएको छ। सन् २०१३ देखि बन्द रहेको यो प्रयोगशाला अहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मार्फत पुनः सञ्चालनमा ल्याइएको हो। पुनः सञ्चालनसँगै उच्च हिमाली क्षेत्रसम्बन्धी अनुसन्धान फेरि सक्रिय बन्न थालेको छ।
सोलुखुम्बुको लोबुचेमा समुद्री सतहदेखि करिब ५०५० मिटर उचाइमा रहेको यो प्रयोगशाला उच्च भू–भागको अध्ययनका लागि विश्वकै महत्वपूर्ण अनुसन्धान केन्द्र मानिन्छ। यहाँ वायुमण्डलीय प्रदूषण, जलवायु परिवर्तन, मौसम तथा हिमाली पारिस्थितिक प्रणालीमा पर्ने प्रभावबारे गहन अध्ययन गरिन्छ।
प्रयोगशालाका व्यवस्थापक तथा प्राविधिक कर्मचारी काजी विष्टका अनुसार यहाँ ब्ल्याक कार्बन, मरकरीजस्ता प्रदूषणका स्रोत र तिनले हिमालमा पार्ने असरबारे अनुसन्धान भइरहेको छ। साथै तापक्रम, हावाको चाप, आर्द्रता, वर्षा तथा सौर्य विकिरणजस्ता तथ्यांकहरू रियल टाइममा संकलन र अद्यावधिक गरिन्छ, जसले दीर्घकालीन वातावरणीय अध्ययनमा सहयोग पुर्याउँछ।
यो परियोजना नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र इटालियन राष्ट्रिय अनुसन्धान परिषद्बीचको सहकार्यमा सञ्चालन हुँदै आएको हो। प्रयोगशालामा हिमालय क्षेत्रमा हुने टेक्टोनिक प्लेटहरूको गतिविधि अध्ययन गरिन्छ, जसले भारतीय र तिब्बती प्लेटबीचको अन्तरक्रिया र हिमाल निर्माण प्रक्रियाबारे महत्वपूर्ण जानकारी दिन्छ।
सगरमाथा क्षेत्र विश्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँ आउने पर्यटकहरूले पनि प्रयोगशालाको अवलोकन गर्ने गरेका छन्। बेस क्याम्प र कालापत्थर भ्रमणका क्रममा दैनिक रूपमा आगन्तुकहरू प्रयोगशालासम्म पुग्ने गरेका छन्, जसले वैज्ञानिक गतिविधिप्रति जनचासोसमेत बढाएको छ।
सन् १९९० मा सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तर्गत स्थापना गरिएको यो प्रयोगशाला लामो समय बन्द हुँदा अन्तर्राष्ट्रिय अनुसन्धान प्रभावित बनेको थियो। पुनः सञ्चालनसँगै अब सगरमाथा क्षेत्रको वातावरणीय अवस्था, प्रदूषणको स्तर र जलवायु परिवर्तनका प्रभावबारे महत्वपूर्ण तथ्यांक संकलन हुने अपेक्षा गरिएको छ।
