काठमाडौँ महानगरपालिका–२३ स्थित जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको ऐतिहासिक तथा धार्मिक महत्वको प्रस्तर बुद्ध मूर्ति अन्ततः आफ्नै मूल स्थानमा पुनःस्थापित गरिएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिबेट हाउस कलेक्सनसम्म पुगेको उक्त मूर्ति वि.सं. २०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो।
मूर्ति फिर्ता ल्याउन पुरातत्त्व विभाग र नेपाली सम्पदा संरक्षण अभियन्ताहरूले दीर्घ प्रयास गरेका थिए। नेपाल फर्किएपछि मूर्तिलाई राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा सुरक्षित रूपमा राखिएको थियो। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि मूर्ति पुनःस्थापनाको तयारी गरिएको हो।
वैशाख १७ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन तथा सरोकारवाला निकायका प्रतिनिधिहरू राष्ट्रिय सङ्ग्रहालय पुगेका थिए। प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार गुठियारलाई संरक्षण जिम्मेवारी हस्तान्तरण गरी सङ्ग्रहालय प्रमुख अरुणा नकर्मीले मूर्ति औपचारिक रूपमा बुझाइन्।
बुद्ध जयन्तीको अवसर पारेर वैशाख १८ गते हनुमानढोकाबाट बाजागाजासहित मूर्ति न्हुछे बहा विहारमा लगेर मूल आसनमा पुनःस्थापित गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सम्पदा अभियन्ता तथा स्थानीयबासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले मूर्तिहरू केवल कलात्मक संरचना नभई समुदायको आत्मा र पहिचान भएको बताइन्। उनले यस्ता सम्पदाको संरक्षणमा महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिन्। वडा अध्यक्ष महर्जनले पनि मूर्ति पुनःस्थापनाले स्थानीय सांस्कृतिक पहिचान सुदृढ भएको धारणा व्यक्त गरे।
यसअघि पनि काठमाडौँमा चोरी भएका महत्वपूर्ण सम्पदाहरू पुनःस्थापना गर्ने कार्य भइरहेको छ। कुमारी घरको ऐतिहासिक तोरण र मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको महागौरी–पार्वती मूर्ति पनि आफ्नै स्थानमा फर्काइसकिएको छ। यी घटनाहरूले चोरी भएका नेपाली सम्पदाहरू फिर्ता ल्याउने अभियानमा थप उत्साह र सफलताको संकेत गरेका छन्।
