पोखरा, वैशाख १८ गते — देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। आरएस पोखरा फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगिता पहिलो संस्करणमै उत्साहपूर्ण रूपमा अघि बढेको छ।
उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले आयोजक आरएस पोखरालाई एकतर्फी खेलमा ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेल पोखरा रङ्गशालामा सम्पन्न भएको हो।
पुलिस क्लबकी राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोल गरिन्। उनले पाँचौँ मिनेटमै गोल गर्दै सुरुआत गरेकी थिइन् भने ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन्। त्यसपछि ३७औँ र ६०औँ मिनेटमा थप दुई गोल गर्दै टोलीलाई विशाल जित दिलाइन्।
पुलिसका लागि निर्मला विकले १०औँ मिनेटमा र सहारा लिम्बूले ५०औँ मिनेटमा एक–एक गोल गरे। एक गोल भने आत्मघाती रूपमा प्राप्त भएको थियो। खेलको अधिकांश समय पुलिसले दबाब कायम राख्दै पहिलो हाफमै ५–० को अग्रता बनाएको थियो।
आयोजक आरएस पोखराले केही अवसर सिर्जना गरे पनि गोलरक्षक उषा नाथको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन। प्रतियोगितामा आरएस पोखरा, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब गरी चार टोली सहभागी छन्।
प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। उक्त खेलको विजेताले वैशाख २० गते हुने फाइनलमा नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्।
