नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्ने क्षेत्रमा एकतर्फी ढलानको काम सम्पन्न भएको छ। अब यो खण्डमा पक्की सडकमार्फत यातायात सञ्चालन हुने दिशामा महत्वपूर्ण प्रगति भएको आयोजनाले जनाएको छ।
आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने क्षेत्रमा करिब चार किलोमिटर सडकमा एकतर्फी ढलान पूरा गरिएको हो। यसले वर्षायाममा बारम्बार देखिने सडक जाम र आवागमनको समस्या कम हुने अपेक्षा गरिएको छ।
दाउन्नेमा ढलान नसकिँदा सामान्य वर्षा हुँदा समेत सवारी आवागमन प्रभावित हुने र लामो जामको समस्या हुँदै आएको थियो। अब ढलान सम्पन्न भएसँगै आगामी करिब १४ दिनपछि उक्त सडक खण्ड पूर्ण रूपमा प्रयोगमा ल्याउन सकिने जनाइएको छ।
सूचना अधिकारी खनालले पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न भएसँगै अब करिब ६५ किलोमिटर सडक कालोपत्र र पक्की संरचनाले जोडिएको जानकारी दिए। उनका अनुसार यसले पूर्वी खण्डमा यात्रालाई निकै सहज बनाउनेछ।
उनका अनुसार, “दाउन्नेमा एकतर्फी ढलान सकिएको छ, अब १४ दिनपछि पूरै पूर्वी खण्डमा पक्की सडकमार्फत यात्रा गर्न सकिनेछ।” यद्यपि पश्चिम खण्डमा भने अझै पूर्ण ढलानको काम सम्पन्न भएको छैन।
नारायणगढ–बुटवल सडक विस्तार आयोजना २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको थियो। तर समयमै काम पूरा नभएपछि पटक–पटक म्याद थपिँदै आएको छ र हाल चौथो पटक थपिएको म्याद अनुसार निर्माण कार्य अघि बढिरहेको छ।
एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सञ्चालन भइरहेको यो आयोजनाको कुल लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ। आयोजना पूरा भएपछि यो देशकै प्रमुख पूर्व–पश्चिम राजमार्गमध्ये एक अझ सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।
