बेइजिङ, वैशाख १८ गते । अमेरिकी नियामक निकाय फेडरल कम्युनिकेसन कमिसन (FCC) ले चिनियाँ प्रयोगशालालाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षणबाट रोक्ने प्रस्ताव अघि सारेपछि चीनले कडा आपत्ति जनाएको छ । बेइजिङले यसलाई द्विपक्षीय व्यापार सम्बन्धमा गम्भीर असर पार्ने कदम भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।
FCC को प्रस्ताव पारित भए स्मार्टफोन, क्यामेरा लगायतका विभिन्न इलेक्ट्रोनिक उपकरण प्रभावित हुने छन् । हाल अमेरिकामा प्रयोग हुने करिब ७५ प्रतिशत प्रमाणित उपकरण चीनस्थित मान्यता प्राप्त प्रयोगशालामा परीक्षण हुने भएकाले यो निर्णयको प्रभाव व्यापक हुने देखिएको छ ।
चीनको वाणिज्य मन्त्रालयले यस कदमले अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार प्रणालीलाई कमजोर बनाउने दाबी गर्दै आपत्ति जनाएको छ । मन्त्रालयका अनुसार यदि अमेरिका आफ्नो निर्णयमा अडिग रहे चीनले आफ्ना कम्पनी र उद्योगको हित जोगाउन आवश्यक कदम चाल्नेछ ।
बेइजिङले अमेरिकी नियामक निकायमाथि चिनियाँ कम्पनी र उत्पादनलाई लक्षित गर्दै निरन्तर प्रतिबन्धात्मक नीति अपनाएको आरोप पनि लगाएको छ । यस्तो कदमले दुई देशबीच लामो प्रयासपछि बनेको व्यापारिक स्थिरतालाई कमजोर बनाउने चीनको भनाइ छ ।
FCC ले भने आफ्नो प्रस्ताव राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिने उद्देश्यले ल्याइएको स्पष्ट पारेको छ । यसअघि नै विदेशी नियन्त्रणमा रहेका प्रयोगशालामाथि केही प्रतिबन्ध लागू भइसकेको र नयाँ प्रस्तावले त्यस्ता प्रयोगशालाको मान्यता चरणबद्ध रूपमा हटाउने लक्ष्य राखेको बताइएको छ ।
प्रस्ताव पारित भएमा चिनियाँ प्रयोगशालामा परीक्षण भएका उपकरणलाई दुई वर्षभित्र अमेरिकी बजारबाट हटाइनेछ । यसले प्रविधि आपूर्ति शृङ्खला र विश्वव्यापी व्यापार प्रणालीमा असर पार्ने तथा अमेरिका–चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझ तीव्र हुने विश्लेषकहरूको भनाइ छ ।
