काठमाडौं । बीबीसी न्यूज फारसीका अनुसार इरानको इस्फहानमा २१ वर्षीय ससान आजादवर जोंगानीलाई फाँसी दिइएको छ । उनलाई यस वर्ष जनवरीमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो ।
जानकारी अनुसार उनलाई इस्फहानको दस्तगार्ड जेलमा फाँसी दिइएको हो । पछि उनको अन्त्येष्टि बिहीबार दिउँसो ‘सुरक्षित क्षेत्रमा’ गरिएको र सीमित रूपमा मात्र १० जना आफन्तलाई उपस्थित हुन दिइएको बताइएको छ ।
इरानको न्यायपालिकाले जोंगानीमाथि सरकारलाई “ढलाउने उद्देश्यले” प्रदर्शनमा संलग्न भएको आरोप लगाएको छ । आरोपअनुसार उनले सुरक्षाकर्मी बोकेको मिनीबसमा ढुङ्गा तथा लाठी प्रहार गर्दै सवारीसाधनको झ्याल फुटाएको दाबी गरिएको छ ।
न्यायपालिकाका अनुसार उनले प्रदर्शनअघि नै सरकार उल्टाउने उद्देश्यले सडकमा जाने र अन्यलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेको स्वीकार गरेका थिए ।
तर मानव अधिकारकर्मीहरूले भने उनको पक्राउपछि गरिएको प्रक्रिया, कानुनी प्रतिनिधित्वको पहुँच र बयान लिने अवस्थाबारे स्पष्ट जानकारी नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस घटनाले न्यायिक प्रक्रियामा पारदर्शिताबारे गम्भीर प्रश्न उठाएको बताएका छन् ।
