रोल्पा । रोल्पाको जलजलामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाको शव भिरबाट सडकसम्म ल्याउन झन्डै २१ घण्टा लागेको छ । अत्यन्त अप्ठेरो भौगोलिक अवस्थाका कारण उद्धार कार्य लामो समयसम्म जारी रह्यो ।
जिप करिब ८ सय मिटर तल गहिरो खोंचमा खसेको र क्षेत्रमा भिरालो तथा जोखिमपूर्ण भू–भाग भएकाले सुरक्षाकर्मीले डोरीको सहायताले शव माथि ल्याउन बाध्य भएका थिए । सुरुमा सबैभन्दा नजिकको प्रहरी युनिट २० मिनेटमै घटनास्थल पुगे पनि रातको समयमा उद्धार सम्भव नभएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार बिहान उज्यालो भएपछि मात्र उद्धार कार्य तीव्र पारिएको थियो । ‘एक–एक शव बोकेर माथि ल्याउनुपरेका कारण शुक्रबार दिउँसो करिब १२ बजे मात्रै उद्धार सकिएको हो,’ उनले बताए ।
दुर्गम भूगोल, कमजोर सञ्चार सेवा र सडक पहुँच नहुँदा उद्धारमा थप कठिनाइ भएको थियो । एम्बुलेन्स तथा भारी उद्धार सवारी घटनास्थलसम्म पुग्न नसक्दा समन्वयमै समस्या आएको प्रहरीले जनाएको छ । मोबाइल नेटवर्कसमेत कमजोर भएकाले प्रारम्भिक सूचना आदान–प्रदानमा ढिलाइ भएको थियो ।
दुर्घटनामा चालकसहित २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइते समीर कामीको रुकुम पूर्व जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । मृतकमध्ये ४ बालक, ४ पुरुष र १२ महिला रहेको पुष्टि भए पनि उनीहरूको पहिचान खुल्न बाँकी छ ।
रुकुमकोटबाट जलजलातर्फ एकै समयमा दुई–तीन वटा गाडी गएका कारण कुन गाडीमा को–को सवार थिए भन्ने स्पष्ट नभएकाले सनाखतमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । शवहरू पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ र आवश्यक प्रक्रिया पूरा भएपछि आफन्तलाई जिम्मा लगाइने बताइएको छ ।
