पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशमा अर्बौं रुपैयाँ बराबरको क्षति भए पनि सम्बन्धित निकायले जाहेरी नदिएको विषयमा प्रश्न उठेको छ।
रिपोर्टअनुसार गण्डकी प्रदेश सरकार र मातहतका निकायमा मात्रै झण्डै डेढ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। भवनबाहेक ४६ करोड ६९ लाख रुपैयाँको नोक्सानी भएको छ भने भवनतर्फ करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमै जानकारी दिँदै १ सय ३८ सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति पुगेको बताएका थिए। आन्दोलनका क्रममा ३ सय ६१ दुई पाङ्ग्रे र १ सय ६१ चार पाङ्ग्रे सवारी साधनमा आगजनी भएको थियो।
यति ठूलो क्षति हुँदासमेत जाहेरी नदिइएको भन्दै सार्वजनिक लेखा समिति बैठकमा सांसदहरूले कडा प्रश्न उठाएका छन्।
