काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक दिवस र बुद्ध जयन्तीका दिन पनि सरकारी अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्न गरेको निर्णयप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ।
मन्त्रालयले वैशाख १८ गते देशभरका सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो। तर संघले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी पनि श्रमिक नै भएकाले श्रमिक दिवसको बिदाका दिन ओपिडी सञ्चालन गर्नु अन्यायपूर्ण हुन्छ। आकस्मिक तथा अत्यावश्यक सेवा भने बिदाका दिन पनि नियमित रूपमा सञ्चालन भइरहेकाले ओपिडी अत्यावश्यक सेवा नभएको संघको भनाइ छ।
संघले केही दिन ओपिडी बन्द हुँदा स्वास्थ्य सेवामा ठूलो असर नपर्ने उल्लेख गर्दै अन्य पेशाकर्मीसरह बिदा पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ।
