काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ९६ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार भने सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जहाँ १ हजार ८ सय रुपैयाँको गिरावट आएको थियो। तर त्यसको भोलिपल्टै बजारमा उच्च दरको सुधार देखिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। बिहीबार प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ९ सय ४५ रुपैयाँ पुगेको छ, जसअनुसार तोलामा १३५ रुपैयाँ वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ४ हजार ६ सय १३ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।
