काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको ऐतिहासिक मजदुर आन्दोलनको सम्झनामा आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ देखि सुरु भएको उक्त आन्दोलनको स्मरणमा मे १ लाई श्रमिक दिवसका रूपमा मनाउने परम्परा रहेको हो ।
नेपालमा श्रमिक दिवसको सुरुआत विसं २००७ को विराटनगर मजदुर आन्दोलनपछि भएको मानिन्छ भने विसं २०४६ पछि यस दिनलाई सार्वजनिक बिदासहित औपचारिक रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न निकायले देशभर कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रमहरूमा श्रमिकको वर्तमान अवस्था, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिक दायरामा ल्याउने रणनीति र स्वदेशमै रोजगारी सिर्जनाका विषयमा छलफल भइरहेको छ । श्रम कानुन कार्यान्वयन र सुधारबारे सरोकारवालाबीच बहस पनि हुने बताइएको छ ।
मन्त्रालयका अनुसार श्रम ऐन २०७४ र नियमावली २०७५ कार्यान्वयनमा जोड दिइएको छ भने आवश्यक परे संशोधन प्रक्रिया पनि अघि बढाइएको छ । श्रम सम्बन्ध तथा सामाजिक संरक्षण महाशाखाका अनुसार कानुन उल्लङ्घन गर्ने रोजगारदातामाथि कारबाही प्रक्रिया पनि अघि बढाइएको छ ।
सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोकेको छ र प्रत्येक दुई वर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत करिब २९ लाख श्रमिक आबद्ध भइसकेका छन् भने औपचारिक क्षेत्रका थप श्रमिकलाई समेट्ने प्रयास भइरहेको छ ।
नेपालको ठूलो श्रम शक्ति वैदेशिक रोजगारीमा निर्भर रहेको र रेमिट्यान्स अर्थतन्त्रको प्रमुख आधार बनेको सन्दर्भमा सरकारले सुरक्षित, मर्यादित र शोषणमुक्त श्रम बजार निर्माणलाई प्राथमिकता दिएको छ । साथै वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने नीति लिइएको छ ।
