बैशाख - १८ , दमक | शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग परेको पवित्र दिन ‘बुद्ध जयन्ती’ आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यसै अवसरमा प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किरात समुदायको महत्त्वपूर्ण पर्व ‘उभौली’ पनि उत्साहका साथ मनाइँदै छ।
वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश फैलाउने विश्वास गरिन्छ। धार्मिक मान्यताअनुसार आजकै दिन कपिलवस्तु नजिकको लुम्बिनीमा राजा शुद्धोदन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। २९ वर्षको उमेरमा राजसी जीवन त्यागी ज्ञानको खोजीमा निस्किएका उनले भारतको बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए। जन्म, ज्ञान र निर्वाणजस्ता तीनै महत्त्वपूर्ण घटना एउटै दिन परेको विश्वासले यस दिनलाई विशेष पवित्र मानिन्छ।
बुद्धका चार आर्यसत्य—दुःख, दुःखको कारण, दुःख निरोध र निरोधको उपाय—तथा अष्टाङ्गिक मार्ग (सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका, प्रयास, स्मृति र समाधि) आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन्।
यस अवसरमा नेवार तथा बौद्ध समुदायले बुद्धका मूर्तिहरू सजाएर नगर परिक्रमा गराउने, धूप–दीप बाल्ने, फूल तथा प्रसाद चढाउने र भजन–कीर्तन गर्ने गर्छन्। बुद्ध जन्मस्थल लुम्बिनी लगायत देशका विभिन्न स्थानमा झाँकी, नृत्य तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी बुद्धका जीवन र शिक्षाको प्रचार–प्रसार गरिन्छ।
यसैबीच, किरात समुदायले प्रकृति र पुर्खाको सम्मानमा उभौली पर्व पनि मनाइरहेका छन्। जाडो मौसम समाप्त भई गर्मी सुरु हुने क्रममा मानिस तथा जीवजन्तु उकालो क्षेत्रतर्फ सर्ने परम्परासँग यो पर्व जोडिएको छ। साथै, खेतीपातीको सुरुवात हुने समय भएकाले यसलाई कृषि चक्रसँग पनि सम्बन्धित मानिन्छ।
उभौली पर्वको मुख्य आकर्षण ‘साकेला नाच (सिली)’ हो, जसले प्रकृति, ऋतु परिवर्तन र सामाजिक जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्छ। यस अवसरमा भूमिपूजा, पुर्खापूजा तथा प्रकृतिको आराधना गरिन्छ, जसले वातावरण संरक्षणको सन्देश दिन्छ। सिलिचुङ, हलेसी महादेव लगायतका क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिन्छन् भने काठमाडौँ उपत्यकामा पनि साकेला सिली नाच्ने प्रचलन रहेको छ।
