बेइजिङ । बेइजिङ मा ड्रोनको बिक्री र प्रयोगमा चीनले कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। सार्वजनिक सुरक्षालाई प्राथमिकता दिँदै ल्याइएको यो नयाँ नियम शुक्रबारदेखि लागू हुने भएको छ।
नयाँ प्रावधानअनुसार ड्रोन र यसको मुख्य पार्ट्स किनबेच, भाडामा दिने तथा सहरभित्र ल्याउने कार्य निषेध गरिनेछ। साथै, ड्रोन भएका व्यक्तिहरूले आफ्ना उपकरण अनिवार्य रूपमा प्रहरीमा दर्ता गर्नुपर्नेछ। सहर बाहिर उडाइने सबै ड्रोनका लागि पूर्वअनुमति लिनुपर्ने र प्रयोगकर्ताले अनलाइन तालिम लिएर परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको छ।
हालका वर्षहरूमा चीन ले ड्रोनसम्बन्धी नियमहरू क्रमशः कडा बनाउँदै आएको छ। यसअघि नै बेइजिङको अधिकांश हवाई क्षेत्रलाई ‘नो ड्रोन जोन’ घोषणा गरिसकिएको थियो। यद्यपि ड्रोनहरू खाना डेलिभरी, कृषि तथा भवन सफाइजस्ता क्षेत्रमा व्यापक रूपमा प्रयोग भइरहेका छन्, जसलाई ‘लो–अल्टिच्युड इकनोमी’ अन्तर्गत रणनीतिक प्राथमिकता दिइएको छ।
नयाँ नियमले ड्रोन प्रयोग थप जटिल बनाउने देखिएको छ। यदि कसैले ड्रोन मर्मतका लागि सहर बाहिर पठायो भने पुनः ल्याउँदा स्वयम् उपस्थित हुनुपर्नेछ। साथै, हरेक उडानका लागि हवाई ट्राफिक निकायको अनुमति अनिवार्य हुनेछ।
यद्यपि आतंकवादविरुद्धका कार्य, विपद् व्यवस्थापनजस्ता विशेष प्रयोजनका लागि भने सरकारी स्वीकृतिमा ड्रोन प्रयोग गर्न पाइनेछ।
यी कडा नियमहरूले चीनको विशाल ड्रोन बजारमा प्रभाव पार्ने अनुमान गरिएको छ। सरकारी तथ्यांकअनुसार देशभर ३० लाखभन्दा बढी दर्ता भएका ड्रोनहरू छन्। विश्वकै ठूलो ड्रोन निर्माता डीजेआई चीनमै रहेको छ, र नयाँ नियम लागू भएसँगै बेइजिङस्थित यसका पसलहरूले ड्रोन तथा सम्बन्धित सामग्री हटाउन थालेको जनाइएको छ।
