कपिलवस्तु, वैशाख १७ गते । कपिलवस्तु मा यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
कपिलवस्तु नगरपालिका–११ निग्लिहवा स्थित तौलिहवा–चार नम्बर सडक खण्डमा आज दिउँसो करिब २ बजे लु १ ख ८७९४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकाल ले जानकारी दिनुभयो।
तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको उक्त बस अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। बसमा सवार यात्रुमध्ये घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ। केही घाइतेलाई जिल्ला अस्पताल तौलिहवा मा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र पठाइएको छ भने सामान्य अवस्थाका घाइतेहरूको उपचार युनाइटेड अस्पताल ठकुरापुर मा भइरहेको छ।
बस चालक शङ्कर सार्की लाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
