१७ वैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरण को सहायक कम्पनी नेपाल डिजिटल पूर्वाधार कम्पनी औपचारिक रूपमा सञ्चालनमा आएको छ। देशको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने लक्ष्यका साथ कम्पनी स्थापना गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य का अनुसार नयाँ कम्पनीले गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तार गर्दै दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्य राखेको छ।
उनले पूर्वाधार साझा गर्ने अवधारणाअनुसार कम्पनीले सहरी सुन्दरता अभिवृद्धि, दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार तथा सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कम्पनीले ‘प्लग–एण्ड–प्ले’ मोडलमार्फत इन्टरनेट सेवा प्रदायकहरूलाई आवश्यक पूर्वाधार उपलब्ध गराउनेछ। यसले सेवा प्रदायकहरूले छुट्टाछुट्टै पोल गाड्ने वा तार टाँग्ने झन्झटबाट मुक्ति पाउनेछन्।
प्राधिकरणको अप्टिकल फाइबर, भूमिगत डक्ट तथा पोलजस्ता संरचनालाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउने योजना रहेको छ। यसले सेवा प्रदायकहरूको पूँजीगत खर्च घट्ने र उपभोक्ताले सस्तो इन्टरनेट सेवा पाउने अपेक्षा गरिएको छ।
काठमाडौं उपत्यकामा देखिएको तारको अव्यवस्थित गुजुल्टो हटाउन कम्पनीले प्राथमिकताका साथ काम गर्ने जनाएको छ। भूमिगत पाइपको साझा प्रयोगले शहरी सौन्दर्य कायम गर्नुका साथै विद्युत् र टेलिफोनका तारहरू अल्झिँदा हुने आगलागी तथा दुर्घटनाको जोखिम पनि कम गर्ने विश्वास गरिएको छ।
शाक्यले अब प्रतिस्पर्धा पूर्वाधार निर्माणमा नभई सेवा गुणस्तरमा केन्द्रित हुनुपर्नेमा जोड दिए। साथै, सरकारले देशका प्रत्येक घरधुरीमा डिजिटल कनेक्टिभिटी पुर्याउने दीर्घकालीन लक्ष्य लिएको जानकारी दिए।
