दमक, झापा — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताउनुभएको छ।
प्रेस युनियन झापाद्वारा बिहीबार दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाली कांग्रेस अहिले नियमित महाधिवेशनतर्फ अघि बढिसकेको जानकारी दिनुभयो। विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको उल्लेख गर्दै उहाँले पार्टीभित्र अब कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो।
उपसभापति शर्माले कांग्रेसमा लामो समयदेखि योगदान दिँदै आएका अग्रज तथा अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मानपूर्वक समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हाम्रो उमेर बराबर राजनीति गरेका अभिभावकहरू पार्टीमा हुनुहुन्छ, उहाँहरूलाई साथमै लिएर अघि बढ्छौँ,” उहाँले भन्नुभयो।
संसद्मा कांग्रेसको भूमिका सशक्त र जिम्मेवार रहने बताउँदै उहाँले प्रमुख प्रतिपक्षी दलका रूपमा संयमित, परिपक्व र खबरदारीपूर्ण भूमिकामा रहने स्पष्ट पार्नुभयो। बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्दै जनअपेक्षाअनुसार कार्यशैली अपनाइने पनि उहाँले जानकारी दिनुभयो।
उहाँले वर्तमान सरकार पाँच वर्ष पूरा कार्यकालसम्म सञ्चालन होस् र जनताको अपेक्षा पूरा गरोस् भन्ने पक्षमा कांग्रेस रहेको बताउनुभयो। साथै संविधान संशोधनलगायत जनहितका काममा सरकारलाई आवश्यक सहयोग र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
